अश्लील सामग्री पठाई धम्की दिएको आरोपमा खाँण पक्राउ


स्याङ्जा-  सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा स्याङ्जा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३२ वर्षीय सुरज खाँण रहेका छन्।

प्रहरीका अनुसार पुतलीबजार नगरपालिका–८ निवासी खाँणले नक्कली फेसबुक खातामार्फत एक महिला र उनका आफन्तलाई अश्लील भिडियो पठाएको आरोप छ। साथै, ती भिडियोहरू अन्यलाई शेयर गराउन दबाब दिने, गालीगलौज गर्ने तथा धाकधम्की दिने गतिविधिमा संलग्न रहेको उजुरी परेको प्रहरीले जनाएको छ।

उजुरीका आधारमा उनलाई पुतलीबजार नगरपालिका–१ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए। पक्राउपछि उनलाई साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद लिइएको छ।

प्रहरीले विद्युतीय माध्यमको दुरुपयोग गरी गरिने यस्ता गतिविधिविरुद्ध कानुनी कारबाही अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया