
यातायात कार्यालयबाट ७ बिचौलिया पक्राउ, ५३ बिलबुक र नगद बरामद
काठमाडौं- काठमाडौं महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात कार्यालय परिसरबाट सात जना बिचौलिया पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछाप उमाकुण्ड–४ का ३९ वर्षीय विज्ञान राई, काठमाडौं तारकेश्वरका ३१ वर्षीय सञ्जय राजवाहक, रानिवनका ३६ वर्षीय विमल तामाङ, रामेछाप खाँडादेवी–७ का ३५ वर्षीय रमेश कार्की, धादिङ निलकण्ठ–५ की ३६ वर्षीया कल्पना लम्साल र नुवाकोट बेलकोटगढी–१२ का ३९ वर्षीय उद्धव खनाल रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट ५३ थान बिलबुक र १ लाख २२ हजार रुपैयाँ बरामद गरिएको छ।
प्रहरीका अनुसार उनीहरूले सेवाग्राहीलाई दुःख हैरानी दिँदै बिलबुक नवीकरण गरिदिने बहानामा रकम असुल्ने तथा सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने काम गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
