‘अब घुस खुवाएर ठेक्का लिँदैनौं’


काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अबदेखि निर्माण व्यवसायीहरूले कुनै पनि प्रकारको अनुचित लेनदेन (घुस) गरेर ठेक्का नलिने बताएका छन् ।

महासंघको २६औँ साधारण सभामा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अध्यक्ष सिंहका अनुसार महासंघको निम्तो लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुग्दा मन्त्रीले निर्माणको ठेक्का लिँदा वा निर्माण सम्बन्धी काम गर्दा अनुचित लेनदेन नगर्न आग्रह गरेका थिए ।

मन्त्रीको उक्त आग्रहपछि महासंघले बैठक नै बोलाएर देशैभरका व्यवसायी कसैलाई पनि अतिरिक्त पैसा नदिन सर्कुलर जारी गरिसकेको उनले बताए ।

उनले भने, ‘मन्त्रीज्यूले कर्मचारीसँग अतिरिक्त पैसा दिने गरी सहमति नगर्न आग्रह गरेका थिए । हामीले पनि महासंघको बैठक बोलाएर देशभरका निर्माण व्यवसायीलाई अनुचित लेनदेन नगर्न सर्कुलर गरिसकेका छौँ ।

सरकारले पनि त्यस्तो समस्या आए सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । त्यो कुरामा हामी उत्साहित छौँ ।’

अध्यक्ष सिंहले ऐन, कानुनका जटिलताका कारण निर्माण क्षेत्रले समस्या भोगिरहेको उल्लेख गर्दै सार्वजनिक खरिद ऐन लगायतका विभिन्न कानुनलाई एकीकृत गरी छाता ऐन’ बनाउन सरकारसँग माग गरे ।

साथै, कुल बजेटको ४० प्रतिशत पुँजीगत खर्च गर्ने प्रावधान बनाउन र रुग्ण आयोजनाहरूको अवस्था हेरेर काम अगाडि बढाउन पर्ने बताए ।

प्रतिक्रिया