सुगममा काज बसेका विशेषज्ञ चिकित्सक फिर्ता, १४ जनाको सरुवा


काठमाडौं-  पहुँच र प्रभावको आधारमा सुगमका अस्पतालमा काज मिलाएर कार्यरत रहेका विशेषज्ञ चिकित्सकहरू अब आफ्नै दरबन्दी रहेको कार्यस्थलमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले देशभर स्वास्थ्य सेवामा सन्तुलन कायम गर्न र दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव हटाउन कडाइ गरेसँगै पहिलो चरणमा १४ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकलाई सम्बन्धित अस्पतालमा फिर्ता पठाइएको हो।

मन्त्रालयका अनुसार लामो समयदेखि शक्तिको पहुँचको भरमा सुगम रोज्ने प्रवृत्तिलाई अन्त्य गर्दै दुर्गम जिल्लामा पनि विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले यो निर्णय गरिएको हो। यसले सर्वसाधारणले आफ्नै क्षेत्रमा सहज रूपमा विशेषज्ञ उपचार पाउने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।

पहिलो चरणको निर्णयअनुसार डडेल्धुरा, वीरगंज र सप्तरीका अस्पतालहरूलाई प्राथमिकतामा राखिएको छ। डडेल्धुरा अस्पतालमा चार जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन् भने नारायणी अस्पताल वीरगंजमा पाँच जना र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा पाँच जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको कार्यस्थलमा पठाइएको छ।

मन्त्रालयले आगामी दिनमा पनि यस्ता काज व्यवस्थालाई व्यवस्थित गर्दै देशभर स्वास्थ्य सेवा सुदृढ र सन्तुलित बनाउने नीति लिएको जनाएको छ।

प्रतिक्रिया