
ओली पक्राउविरुद्ध एमाले सडकमा, २३ जनसंगठनलाई देशभर उतार्ने निर्णय
काठमाडौं— नेकपा (एमाले) ले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा देशव्यापी सडक आन्दोलन सुरु गर्ने निर्णय गरेको छ।
शनिबार बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले आजै दिउँसो ३ बजेदेखि देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। एमालेसँग सम्बद्ध २३ वटा जनसंगठनको समन्वयमा प्रदर्शनलाई व्यापक बनाइने बताइएको छ।
यसअघि नै ओली पक्राउ परे कडा प्रतिरोध गर्ने चेतावनी दिएको एमालेले सोहीअनुसार तत्काल आन्दोलन घोषणा गरेको हो। आज बिहान ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि पार्टीभित्र तीव्र प्रतिक्रिया देखिएको छ। त्यसलगत्तै आकस्मिक बैठक बसेर आन्दोलनका कार्यक्रम तय गरिएको हो।
एमालेले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण कदम भएको आरोप लगाउँदै कानुनी लडाइँसँगै सडक संघर्ष पनि सँगसँगै अघि बढाउने रणनीति लिएको जनाएको छ। पार्टीले आजको प्रदर्शनपछि थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने संकेत दिएको छ।
साथै, अन्य राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणसँग सहकार्य गर्दै ओलीको रिहाइका लागि जनदबाब सिर्जना गर्ने तयारी गरिएको छ।
पक्राउपछि ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ, जहाँ उनको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको छ।



कागजपत्र |
