
निर्वाचन प्रहरीको जिम्मेवारी सकेर भारत गएका तिलकको सडक दुर्घटनामा मृत्यु
खोटाङ- रोजगारीका लागि भारतको हैदरावाद पुगेका खोटाङका २५ वर्षीय तिलक परियार गाडीको ठक्करबाट ज्यान गुमाएका छन्। तिलक खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका हुन्। उनी होटलमा काम गर्न साथीहरूसँगै हैदरावाद गएका थिए।
स्थानीय अगुवा अमरसिं बस्नेतका अनुसार, पैसा कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता दिन नबित्दै तिलकको मृत्यु भयो। तिलकले चैत २ गते गाउँबाट हैदरावादतर्फ यात्रा सुरु गरेका थिए र चैत ५ गते हैदरावाद पुगेका थिए। चैत ६ गते सडक पार गर्दै गर्दा गाडीको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।
हैदरावादस्थित गान्धी अस्पताल, सेकन्दरावादमा उपचारका क्रममा चैत ११ गते बिहान तिलकको मृत्यु भएको हो। विपन्न आर्थिक अवस्थामा रहेका तिलक र उनका साथी सन्तोष परियार निर्वाचन प्रहरीको रुपमा काम गरेर फर्किएपछि हैदरावादमा रोजगारी खोज्न गएका थिए।
तिलक घरका दुई छोरा मध्य कान्छो हुन् र पाँच दिदीबहिनी छन्। उनी श्रीमतीसँग अलग्गिएर बसिरहेका थिए र पाँच वर्षे छोरा छ। तिलक हैदरावादतर्फ हिंडेको दिन घरमा हावाहुरीले पनि क्षति पुर्याएको थियो।
भारत लैजाने ठेकेदारको सहायतामा हैदरावाद पुगेका तिलकका लागि अहिले शव बुझेर दाहसंस्कार गर्न र पोष्टमार्टम तथा कागजात तयारीमा ६० हजार भारु खर्च लाग्ने भएपछि, आफन्तले सहयोगका लागि आर्थिक सहायता मागिरहेका छन्। खोटेहाङ गाउँपालिकाबाट वर्षेनि दर्जनौं युवा रोजगारीको खोजीमा हैदरावाद जाने गरेका छन्।



कागजपत्र |
