
कम्बोडियाबाट ५१ नेपालीको उद्धार, अनलाइन स्क्यामिङमा फसाइएका थिए
काठमाडौं- विभिन्न व्यक्तिको प्रलोभनमा परेर कम्बोडिया पुगेका ५१ नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ।
उनीहरूलाई कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा संलग्न गराइएको थियो। साथै, अनलाइन ठगीलगायत विभिन्न गैरकानुनी गतिविधिमा लगाइएका र बिना राहदानी बसिरहेका अवस्थाबाट उनीहरूको उद्धार गरिएको हो।
थाइल्याण्डस्थित नेपाली दूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उद्धार कार्य सम्पन्न भएको हो। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ।
दूतावासका अनुसार कठिन परिस्थितिमा परेका वा अलपत्र अन्य नेपालीलाई समेत स्वदेश फर्काउने प्रयास जारी रहेको छ। कम्बोडियामा नेपालीहरूलाई अनलाइन ठगीजस्ता गैरकानुनी काममा लगाइने र राहदानी नभई वा म्याद नाघिसकेपछि पनि बसिरहेको अवस्था देखिएको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।
कम्बोडियामा अवैध रूपमा बसिरहेका नेपालीलाई स्वदेश फर्कन सहजीकरणका लागि बैंककस्थित नेपाली राजदूतावास वा गैरआवासीय नेपाली सङ्घ कम्बोडियाका प्रतिनिधिसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
स्क्यामिङ केन्द्रहरूमा काम लगाइएका व्यक्तिहरूको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराउने गरेको गुनासो समेत आएको दूतावासले जनाएको छ। यस्तो अवस्थामा स्वदेश फर्कन नेपाली राजदूतावास बैंककले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था रहेको छ।
कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा त्यहाँ जाने नेपालीको संख्या उल्लेखनीय रूपमा बढेको छ। सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएका थिए भने सन् २०२२ मा १ हजार ९७७, सन् २०२३ मा २ हजार ९४०, सन् २०२४ मा ६ हजार ४०४ र सन् २०२५ मा ९ हजार ६७६ नेपाली पुगेको देखिन्छ।
नेपाल सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा छिटो धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायत देशमा भ्रमणको बहानामा नजान दूतावासले अनुरोध गरेको छ।



कागजपत्र |
