इनिसा विक हत्याको अनुसन्धान अझै अधुरो, अनुसन्धान प्रतिवेदन आउन बाँकी


सुर्खेत- बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको घटनाको अनुसन्धान अझै निष्कर्षमा पुगेको छैन। घटना भएको १७ दिन बितिसक्दा पनि अनुसन्धान टुङ्गो नपुगेको भन्दै कर्णाली प्रदेश सभा बैठकमा सांसदहरूले यसमा प्रश्न उठाएका छन्।

बिहीबारदेखि बसेको बैठकमा सांसदहरूले घटनाको छिटो र निष्पक्ष छानबिनको माग गर्दै सुरक्षा निकायको ध्यानाकर्षण गराएका थिए। सांसद उर्मिला विश्वकर्माले “पीडित परिवारलाई न्याय मिलोस, यस्ता घटनाहरू रोक्न बलात्कारसम्बन्धी कानुन परिमार्जन गरेर मृत्युदण्डसम्मको व्यवस्था गर्नुपर्छ” भनी आग्रह गरिन्। सांसद रणसिंह परियार, कृष्णबहादुर जिसी र मुख्यमन्त्री यामलाल कँडेलले पनि संसदमा धारणा राखेका थिए।

घटना घटेको १७ दिनसम्म मृतकको शव प्रदेश अस्पतालको शव गृहमा राखिएको छ। इनिसाका बुबा इन्द्र विकले न्याय नपाएसम्म शव नबुझ्ने बताएका छन्। उनले भने, “मेरो छोरीमाथि जघन्य अपराध भएको छ, निष्पक्ष अनुसन्धान हुनुपर्छ।”

इनिसा गुर्भाकोट–६ बडाखोलीकी स्थायी बासिन्दा थिइन् र वीरेन्द्रनगर–१ मा परिवारसहित बस्दै आएकी थिइन्। घटना फागुन २३ गते बिहान उनले ट्युसन पढ्न निस्किएकी थिइन् र तीन घण्टा पछि जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परिन्। प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय नाबालकलाई नियन्त्रणमा लिएको थियो, जसले आफू मृतकको प्रेमी भएको बयान दिएका छन्।

परिवारले फागुन २४ गते अन्य तीन जनाको नाममा निवेदन दिँदै सामूहिक बलात्कारपछि हत्या भएको दाबी गरेका छन्। प्रहरीले ती तीन नाबालकलाई पक्राउ गरेको छ।

प्रहरी र विज्ञ टोलीले घटनास्थल, अभियुक्त बयान, मोबाइल डाटा, पोलिग्राफ परीक्षण, सीडीआर विश्लेषण र पोस्टमार्टम रिपोर्टको आधारमा अनुसन्धान गरिरहेका छन्। सुर्खेत प्रहरी प्रमुख सुधीराज शाहीका अनुसार वैज्ञानिक परीक्षण र रिपोर्टहरू आउन बाँकी छन्।

हालसम्मको अनुसन्धानले सामूहिक बलात्कार भएको प्रमाण फेला नपरेको भए पनि पोस्टमार्टम रिपोर्ट अनुसार मृतकको संवेदनशील अंगमा चोट र अत्यधिक रक्तश्रावका कारण मृत्यु हुनसक्ने देखिएको छ। मुख्य अभियुक्त १६ वर्षीय नाबालकले बयानका क्रममा इनिसा बेहोस भएपछि अन्य तीन जनालाई सहयोगका लागि बोलाएको बताएका छन्।

पोलिग्राफ र अन्य रिपोर्टहरू आएपछि अनुसन्धान प्रतिवेदन तयार पारिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया