
फेक रेस्क्यू काण्डमा ३२ जनाविरुद्ध मुद्दा
काठमाडौं– पर्वतारोहणमा जाने विदेशी पर्यटकलाई लक्षित गर्दै गरिएको ‘नक्कली उद्धार’ (फेक रेस्क्यू) प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
सरकारी वकिलको कार्यालय, काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा राज्यविरुद्धको कसुर तथा संगठित अपराध अन्तर्गत मुद्दा दायर गरेको हो।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार उक्त मुद्दामा ३२ जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये ८ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ भने बाँकीलाई फरार प्रतिवादीका रूपमा राखिएको छ।
माघ ११ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पर्वतारोहणका लागि नेपाल आएका विदेशी पर्यटकमाथि बिमा रकम असुली गर्न संगठित रूपमा ठगी भइरहेको सूचना प्राप्त गरेपछि अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा पर्यटकलाई जानीजानी बिरामी भएको देखाएर हेलिकप्टरमार्फत उद्धार गर्ने, अस्पतालमा भर्ना गराउने र त्यसपछि बिमा दाबी गरेर रकम असुल्ने गरेको खुलेको थियो।
प्रहरीले यस प्रकरणमा संलग्न रहेको आरोपमा माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी, एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे तथा म्यानेजर सुवास केसीलाई पक्राउ गरेको थियो।
यसैगरी, विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारी पनि पक्राउ परेका छन्।
त्यस्तै, माघ २५ गते श्रिद्धी अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालगायतलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको थियो।



कागजपत्र |
