इनिशा बिक हत्या प्रकरण: २ साता बित्दा पनि अनुसन्धान अधुरो, उठेन शव


सुर्खेत-  सुर्खेतकी १६ वर्षीया इनिशा बिकको बलात्कारपछि हत्या गरिएको भनिएको घटनाको अनुसन्धान अझै टुङ्गोमा पुग्न सकेको छैन। घटनाको दुई साता बितिसक्दा पनि वास्तविकता बाहिर आउन नसक्दा परिवार र आफन्तले न्यायको माग गर्दै दबाब बढाइरहेका छन्।

इनिशाको शव हालसम्म कर्णाली प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेत का अनुसार घटनाको तथ्य पत्ता लगाउन मृतक र आरोपितको मोबाइल परीक्षणका साथै भजाइनल स्वाबको जाँच भइरहेको छ। प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका लागि नमुना पठाइएको जानकारी दिए।

घटनामा पक्राउ परेका अभियुक्तहरूको बयान सकिए पनि उनीहरूले आरोप अस्वीकार गरेका छन्। पक्राउ परेकामध्ये एकले एक नाबालकसँग इनिशाको दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको दाबी गर्दै शारीरिक सम्बन्धपछि रक्तस्राव हुँदा इनिशा बेहोस भएको बयान दिएको प्रहरीले जनाएको छ।

अभियुक्तका अनुसार बेहोस भएपछि उनलाई अस्पताल लैजान सहयोग मागिएको थियो। सिसिटिभी फुटेजमा पनि बिहान करिब ६ बजेतिर इनिशा र ती १६ वर्षीय किशोर मात्र सँगै गएको देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बयानको सत्यता पत्ता लगाउन पोलिग्राफ परीक्षणसमेत गरिनेछ। यसका लागि नेपालगन्जबाट टोली खटाइएको छ। घटनाको विभिन्न पाटोबाट अनुसन्धान सकिएको भए पनि फरेन्सिक रिपोर्ट आउन बाँकी रहेकाले निष्कर्षमा पुग्न नसकिएको जनाइएको छ।

यस प्रकरणमा थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत वीरेन्द्रनगरमा खटिएको छ।

पोस्टमार्टम रिपोर्टअनुसार अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको देखिएको छ, जुन बलात्कारपछि भएको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा १६ वर्षीय किशोरसहित चारजनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ।

सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएकी र उषा बाल वाटिका विद्यालय मा कक्षा ११ मा अध्ययनरत इनिशा फागुन २३ गते सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी थिइन्।

परिवार र स्थानीयले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै निरन्तर दबाब दिइरहेका छन्।

प्रतिक्रिया