
वीरगञ्जमा विद्यार्थी आन्दोलित: परीक्षा स्थगनविरुद्ध सडक अवरुद्ध
वीरगञ्ज – वीरगञ्ज स्थित हरिखेतान कलेजमा अध्ययनरत विद्यार्थीहरूले कक्षा १२ को टर्मिनल परीक्षा अन्तिम समयमा स्थगित गरिएको विरोधमा आइतबार प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले घण्टाघर क्षेत्रमा सडक अवरुद्ध गर्दै आन्दोलन चर्काएका हुन्। कलेज प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनीहरूले सुरुमा क्याम्पस परिसरमै नाराबाजी गरेका थिए।
स्थिति तनावग्रस्त बन्दै गएपछि प्रहरी क्याम्पसभित्र प्रवेश गरेको थियो। विद्यार्थीहरूको आरोपअनुसार प्रहरी टोलीले क्याम्पस ड्रेसमै रहेका उनीहरूमाथि लाठीचार्ज गरेको हो।
प्रहरीले अत्यधिक बल प्रयोग गरेको विरोधमा विद्यार्थीहरूले सम्बन्धित डीएसपी, क्याम्पस प्रमुख तथा व्यवस्थापन समितिका पदाधिकारीमाथि कारबाहीको माग गरेका छन्।
तर जिल्ला प्रहरी कार्यालय पर्सा ले प्रदर्शनका क्रममा केही विद्यार्थीले तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको जनाएको छ।
प्रदर्शन चर्किएसँगै घण्टाघर क्षेत्रको मुख्य सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ, जसका कारण यातायात आवागमन प्रभावित बनेको छ।
हाल घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थिति सामान्य बनाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
