‘पुरस्कार र दण्ड’नीतिमा डिआईजी कार्की, आईजी स्वीकृत आचार संहिताको ब्रिफिङ


बिराटनगर– प्रहरी कर्म जनता समर्पित र संगठन निर्देशित व्यवाहारिक आधारमा हुनुपर्छ भन्ने ठान्छन्– प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) ईश्वरबाबु कार्की ।

उनले यहि आधारमा नै संगठनका हरेक निकायले काम गनुपर्छ भनी माथाहतका विभिन्न युनिटलाई निर्देशन दिएका छन् । प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीले स्वीकृत गरेको प्रहरी आचार संहिता कार्यादेश २०७७ बारे ब्रिफिङ गर्दै मोरङका विभिन्न सीमावर्ती युनिटमा रहेका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।

राम्रो काम गर्नेलाई पुरस्कार र प्रोत्साहन, गलत काम गर्नेलाई दण्डनीतिमा कार्कीले संगठनको लय बनाउने अभ्यास जारी राखेका छन् । ‘कार्यादेश विपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रहरी नियामावली बमोजिम कडा कारवाही हुन्छ’, निर्देशनका क्रममा उनले भने।

मोरङ जिल्लाका सीमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरुलाई आइतबार १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा नै बोलाएर उनले निर्देशन दिएका थिए।

यस्तै, झापा जिल्लाका सिमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरुलाई पनि ईलाका प्रहरी कार्यालय अनारमनीमा उपस्थित गराई सोही निर्देशन दिएका छन्।

चाडवाडको समयमा खुल्ला सिमानाको फाईदा उठाउँदै हुन सक्ने अवैध चोरी निकाशी तथा अन्तरदेशीय रुपमा हुन सक्ने अपराध नियन्त्रणमा कडाईका साथ कार्य सम्पादन गर्नुपर्ने उनको निर्देशन थियो ।

सीमा क्षेत्रमा अबैध चोरी निकाशी पैठारीमा मिलेमतो गर्ने र आर्थिक प्रलोभनमा परी कमजोर कार्य सम्पादन गरेको पाइए संगठनले कुनै पनि प्रकारको छुट, माफी वा कुरा सुन्ने काम नगर्ने डिआईजी कार्कीले बताए।

प्रतिक्रिया