
ग्रीस र स्पेन पठाइदिन्छु भन्दै ३८ लाख ठगी, दुई जना पक्राउ
काठमाडौं- आकर्षक तलब र युरोप पठाइदिने लोभ देखाएर सर्वसाधारणलाई ठग्ने गिरोहका दुई जना सदस्य अन्ततः प्रहरीको फन्दामा परेका छन्।
वैदेशिक रोजगारीको नाममा ग्रीस र स्पेन पठाइदिने प्रलोभन देखाउँदै लाखौँ रुपैयाँ असुली गरी फरार भएका दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौँ नागार्जुन नगरपालिका–३ बस्ने, काभ्रे रोशी गाउँपालिका–६ घर भएका ३८ वर्षीय रकमबहादुर लोप्चन तामाङ र काठमाडौँ महानगरपालिका–३१ बस्ने, सिराहा मिर्चैया नगरपालिका–३ घर भएका २२ वर्षीय लक्ष्मणकुमार यादव रहेका छन्।
प्रहरीका अनुसार रकमबहादुरले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितबाट २५ लाख रुपैयाँ उठाएका थिए भने लक्ष्मणकुमारले स्पेन पठाइदिन्छु भन्दै ५ जना पीडितबाट १३ लाख ५० हजार रुपैयाँ असुलेका थिए। रकम लिएपछि दुवै जना सम्पर्कविहीन बनेका थिए।
रकमबहादुरलाई काठमाडौँ महानगरपालिका–१३ बाट र लक्ष्मणकुमारलाई काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरिएको हो। प्रहरीले दुवैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।



कागजपत्र |
