
रारा घुम्न गएकी युवतीको मृत्यु
मुगु- सुन्दर रारा ताल घुम्न पुगेकी एक आन्तरिक पर्यटकको अचानक मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार काठमाडौँ महानगरपालिका–धुम्बाराही निवासी करिब ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा ज्यान गएको हो। उनी साथीहरूसँग रमाइलो यात्रामा निस्किएकी थिइन्, तर त्यो यात्रा दुखद अन्त्यमा पुग्यो।
प्रहरीका अनुसार घिमिरे चैत १ गते काठमाडौंबाट नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी शिशिर घिमिरे र विशाल सुवेदीसँग रारा घुम्न प्रस्थान गरेकी थिइन्। चैत ३ गते रारा पुगेपछि उनीहरूले सल्लेरीस्थित डाँफे होटलमा एक रात र हुटुस्थित सोही होटलको अर्को शाखामा अर्को रात गरी दुई दिन बसाइ गरेका थिए।
तर, चैत ५ गते फर्किने तयारीकै क्रममा सल्लेरीस्थित होटलमै घिमिरेको स्वास्थ्य अवस्था एक्कासी बिग्रियो। साथमा रहेको औषधि सेवन गर्दा पनि सुधार नआएपछि साथीहरूले तत्कालै उनलाई जिल्ला अस्पताल मुगु पुर्याए। तर उपचारकै क्रममा चैत ६ गते बिहान ७ः२५ बजे चिकित्सकले मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाले दिएका छन्।
प्रहरीले घटनाको मुचुल्का उठाइसकेको छ भने परिवारको आग्रहअनुसार शवलाई पोस्टमार्टमका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ।
रारा क्षेत्रमा पछिल्ला वर्षहरूमा घुम्न जाने आन्तरिक पर्यटकहरूमा उच्च भौगोलिक क्षेत्र (हाइ अल्टिच्युड) का कारण स्वास्थ्य समस्या देखिने क्रम बढ्दो छ। स्थानीयका अनुसार यसअघि पनि यस्तै कारणले चार जनासम्मले ज्यान गुमाइसकेका छन्।



कागजपत्र |
