होटलमा कामको प्रलोभन देखाएर महिलालाई जबरजस्ती यौन कार्यमा लगाउने दुई पक्राउ


पोखरा– राम्रो तलबसहित होटलमा काम लगाइदिने प्रलोभन देखाएर महिलाहरूलाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की ले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भारत घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथे बस्ने २४ वर्षीय राधे श्याम शाह र बागलुङको काठेखोला गाउँपालिका–४ घर भई पोखरा–१ बगर बस्ने २८ वर्षीय खेमु थापा पक्राउ परेका हुन्। उनीहरूलाई पोखरा–८ जाल्पारोडबाट पक्राउ गरिएको हो।

उक्त घटनामा संलग्नबाट जबरजस्ती अनैतिक कार्यमा लगाइएका चार महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

खाजा घरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले छापा हानेको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार आर्थिक रूपमा कमजोर अवस्थाका महिलाहरूलाई लक्षित गरी उनीहरूलाई होटलमा राम्रो तलब र बसोबासको सुविधा दिने भन्दै फकाइन्थ्यो। त्यसपछि होटलमा आउने ग्राहकसँग पैसा लिएर जबरजस्ती यौन कार्यमा लगाउने गरिएको खुलेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

पक्राउ परेका दुवैजनामाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। कास्की जिल्ला अदालत बाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया