तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं– राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा अधिकारीसहित अन्य व्यक्तिविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार अधिकारी विभागको महानिर्देशक रहेका बेला ७० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ। उक्त रकम पछि जग्गा खरिद तथा ऋण भुक्तानीमा प्रयोग गरिएको दाबी आयोगले गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार एच.के. इन्टरप्राइजेज नामक कम्पनीविरुद्ध राजस्व चुहावटको आरोपमा विभागमा उजुरी परेको थियो। सोही मुद्दाबाट जोगिन कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले अधिकारीलाई ७० लाख रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार उक्त घुस रकम अधिकारीले विकास चापागाईं, देवेन्द्र केसी र रविन्द्र लामिछाने लगायतसँगको सल्लाह तथा मिलेमतोमा विभिन्न बैंक तथा वित्तीय संस्थामा जम्मा गराएका थिए। सो रकम ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंकलगायतका खातामार्फत तहिकरण गरी स्वरूप परिवर्तन गरिएको दाबी आयोगको छ।

अनुसन्धानका क्रममा उक्त रकम भक्तपुरको थिमी नगरपालिकास्थित दिव्यश्वरी आयोजना क्षेत्रभित्रको कित्ता नम्बर ९९८ मा रहेको १६४.१४ वर्गमिटर क्षेत्रफलको जग्गा खरिद गर्न प्रयोग गरिएको पाइएको छ। साथै देवेन्द्र केसी समेत सञ्चालक रहेको ‘द कुटी रिसोर्ट’को कर्जा भुक्तानीमा समेत सो रकम प्रयोग गरिएको तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया