
दुबई विमानस्थल नजिक ड्रोन खस्दा चार जना घाइते
काठमाडौं– संयुक्त अरब इमिरेट्सको प्रमुख विमानस्थल, दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक बुधबार बिहान दुई वटा ड्रोन खस्दा चार जना घाइते भएका छन्।
दुबई मिडिया अफिसले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै एक भारतीय नागरिक मध्यम घाइते भएको र दुई घानाका नागरिक तथा एक बङ्गलादेशी नागरिक सामान्य घाइते भएको जनाएको छ।
अधिकारीहरूले बताएका अनुसार ड्रोनहरू विमानस्थल वरपरको क्षेत्रमा खसेका थिए। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ। दुबई प्रशासनले स्पष्ट पारेको छ कि घटनापछि पनि हवाई उडानहरू सामान्य रूपमा सञ्चालन भइरहेका छन्। तर विमानस्थलको संरचनामा कति क्षति पुगेको छ भन्ने विस्तृत जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन।
मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावका कारण खाडी क्षेत्रका विमानस्थल, समुद्री मार्ग र ऊर्जा पूर्वाधारहरूमा सुरक्षा जोखिम बढिरहेको छ। हालै होर्मुज जलडमरु आसपासका जहाजहरू र क्षेत्रीय सैन्य संरचनाहरू पनि आक्रमणको निशानामा परिरहेका छन्।



कागजपत्र |
