
रास्वपालाई दुई तिहाइका लागि दुई सिट अपुग
काठमाडौं- प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ बहुमतको सरकार बनाउन दुई सिट कम पर्ने स्थिति देखिएको छ।
आगामी संसदको सम्भावित अंकगणित अनुसार, रास्वपाले प्रत्यक्षतर्फ जितेको १२५ सिट र समानुपातिकतर्फ पाउन सक्ने ५७ सिट जोड्दा कुल १८२ सिट प्राप्त गर्ने अनुमान गरिएको छ। यद्यपि निर्वाचन आयोगले सिटको अन्तिम निर्धारण अझै गरेको छैन।
निर्वाचन आयोगले सिट बाँडफाँट गर्दा प्रयोग गर्ने सेन्ट-लग फर्मुलाअनुसार, प्रत्यक्ष र समानुपातिक दुवै मतको आधारमा रास्वपाको सिट संख्या १८२ पुग्ने देखिन्छ। यदि आयोगले यही संख्या कायम गर्यो भने, २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमत (१८४ सिट) हासिल गर्न रास्वपालाई दुई सिट कम पर्नेछ। रास्वपाले समानुपातिक तर्फ ५१ लाख ५४ हजार ९४८ मत प्राप्त गरेको छ, जुन कुल मतको ४७.८१ प्रतिशत हो।
समानुपातिक तर्फ नेपाली कांग्रेस दोस्रो स्थानमा छ। कांग्रेसले समानुपातिकबाट २० सिट पाउने अनुमान छ भने प्रत्यक्षतर्फ १८ सिट जितेको छ। यसरी कांग्रेसको कुल सिट संख्या ३८ पुग्ने देखिन्छ। अघिल्लो निर्वाचनमा कांग्रेसले ८९ सिट जितेको थियो।
नेकपा एमालेले समानुपातिक १६ सिट र प्रत्यक्ष ९ सिट गरी कुल २५ सिट पाउने देखिन्छ। नेपाल कम्युनिष्ट पार्टीले समानुपातिकबाट ९ सिट र प्रत्यक्षबाट ८ सिट गरी जम्मा १७ सिट पाउने देखिएको छ।
यसैगरी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समानुपातिकबाट समानतया ४–४ सिट पाउने देखिन्छ। श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ जितेको ३ सिट जोड्दा कुल ७ सिट हुनेछन् भने राप्रपाले प्रत्यक्षतर्फ जितेको १ सिटसहित कुल ५ सिट पाउने देखिन्छ।



कागजपत्र |
