
इनिशा विक हत्या प्रकरण: सुर्खेतमा न्यायको माग गर्दै प्रदर्शन
वीरेन्द्रनगर – सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको आशंकामा दोषीलाई कडा कारबाहीको माग गर्दै आफन्त र स्थानीयले प्रदर्शन गरेका छन्।
बुधबार वीरेन्द्रनगरमा पीडित परिवार र आफन्तले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गर्न पनि सम्बन्धित निकायसँग माग गरेका छन्।
इनिशाको मृत्यु प्रकरणमा न्यायको माग गर्दै पीडित परिवारले वीरेन्द्रनगरमा खबरदारी र्यालीसमेत निकालेका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’, ‘इनिशालाई न्याय देऊ’ र ‘हत्यारालाई कडा कारबाही गर’ जस्ता नाराबाजी गरेका थिए।
वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वन क्षेत्रमा इनिशा विकको शव फेला परेको थियो। घटनापछि आफन्तले उनलाई बलात्कारपछि हत्या गरिएको आशंका व्यक्त गरेका छन्।
यस घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।



कागजपत्र |
