प्रतिनिधिसभा बैठकको प्रभाव: महाकाली नदीमा भारतको दादागिरी, स्थलगत अध्ययन गर्दै संयुक्त टोली


काठमाडौं – भारतले दार्चुलाको महाकालीमा नेपालको भूमि अतिक्रमण गर्दै एकतर्फी बाँध बनाएको विषयले प्रतिनिधिसभा बैठकमा प्रवेश पाएपछि अहिले दुबै देशका नापी प्राविधिकले स्थलगत अध्ययन जारी राखेका छन् ।

सोमबारदेखि सुरु भएको दुबै देशका नापी अधिकारी सम्मिलित टोलीले दार्चुलाको महाकाली नगरपालिका-५ गल्फै क्षेत्रमा अध्ययन अवलोकन थालेको हो ।

सो स्थानमा भारतले महाकाली नदीको बहावलाई असर पुग्नेगरी नेपाली भूमिमै तटबन्ध बनाउँने काम गरेपछि संसदमा समेत सरकारले ध्यान नदिएको भनेर आलोचना भएको थियो । २०७० सालमा महाकाली नदीमा आएको बढीले गरेको धार परिवर्तन गरेपछि महाकाली नगरपालिकाको खेल मैदान, वन कार्यालयको भवन लगायतका भूभाग महाकाली नदीपारि गएको छ ।

अतिक्रमित क्षेत्रमा नेपालको तर्फबाट प्रमुख नापी अधिकृत जयानन्द जोशीको नेतृत्वमा नापी अधिकृत कमल शाही र कपिल कटुवाल, सर्भेयर शहदेश घिमिरे र सुन्दर देवकोटा र भारतका तर्फबाट डीएसएस माज जतिन्तर सिंहको नेतृत्वमा ओएस महेश महेश्वरी, अनिल जुयाल, धीरजसिंह र दिनेश सिंह सहभागी भएर सो क्षेत्रको अध्ययन गरिरहेका छन् ।

सोमबार दुबै देशका प्रतिनिधिले सो स्थानमा पुगी प्रारम्भिक छलफल गरेपनि आ–आफ्नो विभागको सहमति लिनुपर्ने भएकोले स्थगित भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । आज पनि बिहान १० बजेदेखि प्राविधिक अध्ययन थालिएको उनले बताए । दुबै तर्फको टोलीले अध्ययन पछि बेलुकासम्म केही नयाँ जानकारी अाउने उनले बताए ।

दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडुले प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय माग्दै यसबारे सरकारलाई ध्यानाकर्षण गराउँदै भारतले नेपाली भूमी अतिक्रमण गर्दै थालेको तटबन्ध रोक्न माग गरेका थिए ।

प्रतिक्रिया