
धनगढीमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान बाँकेबाट पक्राउ
कैलाली – कैलालीको धनगढीमा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–७ देवहरियाकी ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या आरोपमा उनका श्रीमान डम्मरराज जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार घटनापछि फरार रहेका जोशीलाई बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तर्गत पर्ने शमसेरगंज प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानअनुसार सरस्वतीको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका जोशीको मानसिक सन्तुलन पनि ठीक नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



कागजपत्र |
