प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा: गृह मन्त्रालय


काठमाडौं – गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधबार गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक बसेको थियो ।

करिब तीन घण्टा लामो उक्त बैठकमा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनबारे विस्तृत छलफल गरिएको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उनका अनुसार बैठकमा प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न भइसकेको र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।

बैठकका क्रममा गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई अझ मजबुत, प्रभावकारी र संवेदनशील बनाउँदै अघि बढ्न प्रमुख जिल्ला अधिकारीहरूलाई स्पष्ट निर्देशन दिएका थिए । उनले मतदानको दिन शान्ति सुरक्षामा कुनै कमजोरी हुन नदिन आवश्यक सतर्कता अपनाउन समेत जोड दिएका छन् ।

गृह मन्त्रालयले निर्वाचनको दिन अपनाउनुपर्ने सुरक्षा सतर्कता, सम्भावित जोखिम र संवेदनशीलताका विषयमा समेत समीक्षा गरिएको जनाएको छ । मन्त्रालयका अनुसार सबै जिल्लामा कर्मचारी, सुरक्षा संयन्त्र तथा निर्वाचन सामग्री समयमै मतदान स्थलमा पुगिसकेको जानकारी प्रमुख जिल्ला अधिकारीहरूले गराएका छन् ।

यससँगै गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, शान्त र मर्यादित रूपमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया