ह्वाट्सएपमा गलत अभिव्यक्ति दिने मतदान अधिकृतको जिम्मेवारी खोसियो


बागलुङ- बागलुङमा प्रतिनिधिसभा निर्वाचनका क्रममा मतदान केन्द्रमा खटाइएका एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ। बागलुङ–२ अन्तर्गत गलकोट नगरपालिका–१० स्थित रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको हो।

क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीका अनुसार मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गैरजिम्मेवार र गलत अभिव्यक्ति दिएपछि गैरेको जिम्मेवारी खोसिएको हो। उनका अभिव्यक्ति र गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता तथा विश्वसनीयतामा नकारात्मक असर पर्न सक्ने देखिएपछि उक्त निर्णय गरिएको सुवेदीले बताए।

निर्वाचन अधिकृतको कार्यालयले गैरेलाई औपचारिक पत्र पठाउँदै जिम्मेवारीबाट हटाइएको जानकारी गराएको छ। पत्रमा मतदान अधिकृतले गर्न नहुने किसिमका गतिविधि गरेको देखिएको उल्लेख गर्दै तुरुन्तै आफ्नो जिम्मामा रहेका मतपत्रसहित सम्पूर्ण मतदान सामग्री सुरक्षा निकायलाई बुझाउन निर्देशन दिइएको छ। साथै निर्वाचन अधिकृतको कार्यालयमा तत्काल सम्पर्क गर्नसमेत भनिएको छ।

गैरेको स्थानमा भुवन बहादुर कुँवरलाई नयाँ मतदान अधिकृतका रूपमा खटाइएको निर्वाचन अधिकृत सुवेदीले जानकारी दिए।

प्रतिक्रिया