
निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध छाैँ : नेपाली सेना
काठमाडौं- नेपाली सेनाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता जनाएको छ।
सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालय मार्फत जारी गरेको विज्ञप्तिमा निर्वाचन सुरक्षा व्यवस्थाका सबै कार्यहरू प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार सञ्चालन भइरहेकाे बताइएकाे छ।
विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि मतदान समाप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरू र नेपाली सेनासहितको एकीकृत टोलीले मतगणना स्थलसम्म मतपेटिका ढुवानी गर्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।
निर्देशनालयले भनेको छ, “२०४८ सालको प्रतिनिधिसभा निर्वाचनदेखि हरेक निर्वाचनमा नेपाली सेना परिचालन भई मतपत्र छपाई स्थलको सुरक्षा, काठमाडौंबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचनको समयमा तेस्रो घेरामा सुरक्षा प्रदान गर्नुका साथै निर्वाचन समाप्त भएपछि संयुक्त टोलीले मतपेटिकालाई मतगणना स्थलसम्म सुरक्षित रूपमा पुर्याउने जिम्मेवारी निर्वाह गर्दै आएको छ।”



कागजपत्र |
