
जनशक्ति अभावपछि निर्वाचन प्रहरीले सम्हाले काठमाडौंको ट्राफिक व्यवस्थापन
काठमाडौं- नियमित ट्राफिक प्रहरीहरूलाई निर्वाचन सुरक्षाका लागि उपत्यकाबाहिर खटाइएपछि राजधानी काठमाडौंका विभिन्न चोक–चोकमा ट्राफिक व्यवस्थापनमा केही कठिनाइ देखिएको छ। जनशक्ति अभावका कारण बढ्दो सवारी जाम नियन्त्रण चुनौतीपूर्ण बनेको हो।
जाम नियन्त्रण र सवारी आवागमन सहज बनाउन हाल निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूलाई पनि सडक ट्राफिक व्यवस्थापनमा परिचालन गरिएको छ। उनीहरूले सवारी अनुशासन कायम गराउने, जाम खुलाउने तथा यात्रुलाई सहज रूपमा गन्तव्यमा पुग्न सहयोग गरिरहेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार निर्वाचन नजिकिँदै जाँदा केही ट्राफिक प्रहरीलाई काठमाडौं बाहिर पठाइएकाले उपत्यकामा जनशक्ति कम देखिएको हो।
उनका अनुसार हाल निर्वाचन प्रहरीहरूलाई विभिन्न स्थानमा ट्राफिक प्रहरीसँगै परिचालन गरिएको छ। सडकमा जाम बढ्ने समयमा उनीहरूले ट्राफिक व्यवस्थापनमा सक्रिय सहयोग गरिरहेका छन्।



कागजपत्र |
