मतदान हुनुभन्दा ७२ घण्टाअघि सीमानाका सिल गर्ने निर्णय


काठमाडौं-  फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअगाडि सीमा सुरक्षा कडा पार्ने निर्णय गरिएको छ।

मंगलबार निर्वाचन आयोग नेपाल मा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल–भारत र नेपाल–चिन सीमा मतदान हुनुभन्दा ७२ घण्टाअघि सिल गर्ने निर्णय गरेको हो।

बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयोगका सचिव कृष्ण बहादुर राउत, नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए।

उच्चस्तरीय सुरक्षा बैठकमा मतदानअघि मादक पदार्थ बिक्रीमा रोक लगाउने विषयमा समेत छलफल भएको थियो। एक अधिकारीका अनुसार, सो सम्बन्धमा आयोगले समय तोकेर विज्ञप्ति जारी गर्नेछ।

बैठकमा फागुन १९ को तराईको होली पर्व र जनकपुरमा हुने माध्यमिकी परिक्रमा मेला व्यवस्थापनबारे पनि छलफल भएको थियो। भारतीय सितमढीबाट ५० हजारभन्दा बढी मानिस जनकपुरको जानकी मन्दिरमा जाने र फागुन १८ मा फिर्ता हुने परम्परा र होली पर्वको मौन अवधिलाई ध्यानमा राख्दै व्यवस्थापन कसरी गर्ने भन्नेबारे आयोगले समीक्षा गरेको छ।

त्यसैगरी, भारतीय नम्बर प्लेटका सवारी साधनलाई रोक लगाउने विषयमा पनि छलफल भएको छ। मतदानअघि कति दिनअघि विदेशी नम्बर प्लेटको सवारी चल्न नदिने भन्ने निर्णय आयोगले गर्ने अधिकार राखेको छ।

हिमाली जिल्लामा हिँउको कारण सुरक्षाकर्मी तथा कर्मचारीलाई चुनौती आउने सम्भावनाबारे पनि छलफल भएको छ। बैठकमा सहभागी एक अधिकारीले मतपेटिका लगायतका निर्वाचन सामग्री हिमाली जिल्लामा कसरी लैजान सकिन्छ भन्ने विषयमा तयारी भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया