
समर्थकहरूलाई धन्यवाद दिँदै साम्बाले गरिन् सहयोग रकम रोक्न अपिल
काठमाडौं- नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि उठाइएको सहयोग रकम पर्याप्त भइसकेको भन्दै अब थप सहयोग रोकिदिन आग्रह गरेकी छन्।
साम्बाको घुँडाको चोटपछि शल्यक्रिया र पुनर्स्थापनाका लागि आर्थिक सहयोग जुटाउने अभियान सुरु गरिएको थियो। पछिल्लो २४ घण्टामा देश तथा विदेशबाट उल्लेख्य आर्थिक सहयोग प्राप्त भएपछि उनले सार्वजनिक अपिल गर्दै अब सहयोग नगर्न अनुरोध गरेकी हुन्।
साम्बाले फेसबुकमार्फत लेखेकी छन्, “आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ। मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दैन। आर्थिक रूपमा तपाईंहरूले उपचार खर्च जुटाइदिनुभयो, तर त्योभन्दा ठूलो कुरा तपाईंहरूको साथ र विश्वासले मलाई अझ बलियो बनाएको छ।”
उनका अनुसार नेपाली बैंक खातामा करिब एक करोड रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ भने विदेशी प्लेटफर्ममार्फत ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भइसकेको छ। साथै विभिन्न संघसंस्था र प्रायोजकबाट नगद तथा अन्य सुविधा सहयोगको प्रतिबद्धता आएको छ। कतारमा उपचारका क्रममा लाग्ने आवास र यातायात व्यवस्थापनका लागि पनि सहयोगको वाचा गरिएको छ।
साम्बाले भनिन्, “यसले मेरो उपचार खर्च मात्र नभई कतारमा उपचारका क्रममा लाग्ने सम्पूर्ण व्यवस्थापन पुरा हुने देखिन्छ। त्यसैले आजबाट दुवै अकाउन्टमा सहयोग रोकिदिनु हुन अनुरोध गर्दछु।”
साम्बा आवद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया तथा पुनर्स्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको उनले उल्लेख गरिन्। चाँडै शल्यक्रियाको मिति तय भई प्रक्रिया अघि बढ्नेमा आफू विश्वस्त रहेको उनले बताइन्।
चोटका कारण शारीरिक मात्र नभई मानसिक रूपमा पनि थकान महसुस गरेकी साम्बाले समर्थकहरूको साथले पुनः उठ्ने साहस पाएको उल्लेख गरिन्। “म एक्लो छैन भन्ने विश्वास तपाईंहरूले दिनुभयो,” उनले लेखिन्।
दृढ संकल्प व्यक्त गर्दै साम्बाले पुनः नेपालको जर्सी लगाएर मैदानमा फर्किने प्रतिबद्धता पनि जनाएकी छन्।



कागजपत्र |
