
नेपाल-भारत सीमा सुरक्षा बैठक: निर्वाचनको ७२ घण्टाअघि नाका बन्द गर्ने सहमति
काठमाडौं- विराटनगरमा आज नेपाल-भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ। बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ।
मोरङ, झापा, सुनसरी र भारतका किसनगञ्ज, अररिया तथा सुपौल जिल्लाका उच्च अधिकारीहरूले सहभागी भएको बैठकमा निर्वाचन सुरक्षा, सम्भावित चुनौतीहरू र सीमा सुरक्षा सुदृढ पार्ने उपायहरूबारे गहन छलफल भएको मोरङ जिल्ला प्रशासन कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकमा मतदान हुनुभन्दा ७२ घण्टा अघि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति पनि भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका डिष्ट्रिक मजिष्ट्रेट विनोद दुहानको सह-अध्यक्षतामा सम्पन्न बैठकले संयुक्त सीमा गस्तीलाई सशक्त बनाउन र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउने निर्णय गरेको छ।
साथै, बैठकले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तेस्रो देशका नागरिकहरूको अनधिकृत प्रवेश, लागुऔषध तथा मानव बेचबिखन, जाली नोटको कारोबार, हतियार र नगद तस्करी नियन्त्रणका लागि निरन्तर सहकार्य जारी राख्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।



कागजपत्र |
