कांग्रेस बदलिएर आएको छ, अब देश बदल्छ : विश्वप्रकाश शर्मा


जनकपुर –  विश्वप्रकाश शर्माले पुरानै ढंगबाट अघि बढेर नयाँ परिणाम दिन नसकिने बताएका छन्। यही बुझाइका साथ नेपाली कांग्रेस विशेष महाधिवेशनमार्फत बदलिएर आएको उनको भनाइ छ।

बुधबार जनकपुरको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञासभालाई सम्बोधन गर्दै उपसभापति शर्माले निर्वाचनपछि सरकार बनेर मात्र देशका समस्या समाधान नहुने स्पष्ट पारे। उनले जनताको आवाजलाई सही रूपमा सम्बोधन गर्न नेपाली कांग्रेसका गगन थापाको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखे।

उनले जो व्यक्ति र पार्टी आफू बदल्न सक्छ, उसैले मात्र देश बदल्न सक्ने उल्लेख गरे। “पुरानै ढंगले चलेर नयाँ परिणाम दिन सकिँदैन भन्नेमा हामी विश्वस्त छौँ। निर्वाचनपछि सरकार बनेर मात्र हुँदैन, सत्तामा बस्नेहरू नै बदलिएनन् भने त्यसको अर्थ रहँदैन,” शर्माले भने, “जो आफूलाई बदल्न सक्छ, उसैले देश बदल्न सक्छ। कांग्रेस बदलिएर आएको छ। अब देश बदल्नेछ। हो, हामी पुरानो पार्टी हौँ, तर हामी नयाँ भएर, बदलिएर आएका छौँ।”

मधेशलाई नयाँ ढंगले विकास गरेर अघि बढाउने प्रतिज्ञा गर्न आफू मधेश आएको शर्माले बताए। सबै समुदायको सम्मान र पहिचान स्थापित गर्ने संकल्पसहित तिरुहुतियागाछीमा आएको उनको भनाइ थियो।

उनले मुल प्रश्न चुनाव कसले जित्छ भन्ने नभई देश कसले सम्हाल्छ भन्ने भएको उल्लेख गर्दै देश सम्हाल्ने जिम्मेवारी कांग्रेसले लिने दाबी गरे।

“अहिले भिन्न–भिन्न प्रवृत्ति देखिएका छन्। एउटा प्रवृत्ति भदौ २३ गतेअघि सबै ठीक थियो भन्ने छ भने अर्को प्रवृत्ति केही पनि राम्रो भएन, सबै भ्रष्ट मात्रै भयो भन्ने छ,” शर्माले भने, “हामी यी दुवै धारणासँग सहमत छैनौँ।”

प्रतिक्रिया