
प्रश्न गरेकै आधारमा ज्यान जाने अवस्थाकाे अन्त्य गर्छौँ : गगन थापा
जनकपुर- नेपाली कांग्रेसका सभापति गगन थापाले युवाले प्रश्न उठाएकै आधारमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने प्रतिज्ञा गरेका छन्।
आगामी २१ फागुनमा हुने चुनावी प्रतिज्ञा सभालाई लक्षित गर्दै बुधबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले प्रश्न सोधेकै कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अब स्वीकार्य नहुने स्पष्ट पारे।
“प्रश्न गर्दा २३ भदौमा जसरी युवा मारिँदैनन्—हामी यही प्रतिज्ञा गर्न आएका हौँ,” थापाले भने, “भदौ २४ गते जस्तो नकाब लगाएर सिंहदरबार जलाउन पाइने अवस्था पनि अन्त्य हुन्छ। यो हाम्रो स्पष्ट प्रतिबद्धता हो।”
थापाले सडकमा उत्रिएका युवाको भावनालाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए। युवाले कांग्रेसलाई अस्वीकार नगरेको, बरु शैली बदल्न आग्रह गरेको उनको भनाइ थियो। “युवाले हामीलाई ‘शैली बदल’ भनेका हुन्, इन्कार गरेका होइनन्। हामीमाथि उठेका प्रश्नलाई नाराले होइन, कामले जवाफ दिन चाहन्छौँ,” उनले भने।
उनले अब युवाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन जाँदा घुस बुझाउन नपर्ने व्यवस्था गरिने दाबी गरे। साथै, कसैलाई पनि झुटो मुद्दामा फसाइने अवस्था अन्त्य गरिने स्पष्ट पारे। नागरिकका आकांक्षा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने दिशामा आफूहरू गम्भीर रूपमा लागेको थापाको भनाइ छ।



कागजपत्र |
