डेढ वर्षपछि घर फर्किएकी श्रीमतीको हत्या, श्रीमान फरार


रौतहट –  रौतहटमा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेर श्रीमान फरार भएका छन्। जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ पेटभरवाका ४५ वर्षीय महन्थ राय यादवले आफ्नी ३५ वर्षीया श्रीमती आरतीदेवी यादवको हत्या गरी फरार भएको आशंका प्रहरीले गरेको छ।

स्थानीय जनप्रतिनिधिका अनुसार यादव दम्पतीबीच लामो समयदेखि वैवाहिक विवाद र मानसिक तनाव चल्दै आएको थियो। महन्थ गाउँ नजिकै सानो होटल सञ्चालन गर्दै आएका थिए भने आरती पछिल्ला केही वर्षदेखि उद्योगमा काम गर्ने बहानामा घर छाडेर वीरगञ्ज, जीतपुर, सिमरा र चन्द्रपुरलगायत स्थानमा बस्दै आएकी थिइन्। करिब डेढ वर्षपछि पाँच दिनअघि मात्रै उनी घर फर्किएकी थिइन्।

शनिबार राति श्रीमान–श्रीमती दुवै घरमै सँगै रहेको अवस्थामा आइतबार बिहान ११ बजेसम्म ढोका नखुलेपछि स्थानीयले शंका व्यक्त गर्दै प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट खटिएको प्रहरी टोलीले स्थानीय जनप्रतिनिधिको रोहवरमा ढोका खोलेको थियो।

ढोका खोल्दा आरती आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक जाँचमा उनको घाँटी र टाउकोमा धारिलो हतियार प्रहार गरिएको देखिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट बञ्चरो र दाउ बरामद गरिएको छ।

घटनापछि महन्थ यादव फरार भएका छन्। वडा अध्यक्ष राम एकवाल यादवका अनुसार फोन सम्पर्क हुँदा महन्थले श्रीमतीको चरित्रमाथि आरोप लगाउँदै हत्या गरेको स्वीकार गरेका थिए र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए।

मृतक आरतीदेवी यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। फरार अभियुक्तको खोजी र घटनासम्बन्धी थप अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सीताराम रिजालले बताए।

प्रतिक्रिया