
उम्मेदवार नपुग्ने गुम्बा गाउँ
बाजुरा- गुम्बा गाउँलाई बाजुराको ‘उम्मेदवार नपुग्ने गाउँ’का रूपमा चिनिन्छ। जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने यो गाउँ अत्यन्तै दुर्गम भएकाले निर्वाचनका बेला उम्मेदवारहरू यहाँ पुग्न नसक्ने गरेको स्थानीयवासी बताउँछन्।
मार्तडीबाट झण्डै २०० किलोमिटर र पालिका केन्द्रबाट करिब १५० किलोमिटर टाढा रहेको गुम्बा गाउँमा पुग्न अझै पनि दुईदेखि चार दिनसम्म पैदल हिँड्नुपर्छ। आवतजावत अत्यन्तै कठिन भएकाले पुस्तौँदेखि धेरैजसो उम्मेदवारहरू यहाँ मत माग्न पुगेका छैनन्।
गाउँमा करिब ६५ घरपरिवार जनजाति समुदायको बसोबास छ भने मतदाताको सङ्ख्या पनि लगभग सोही हाराहारीमा रहेको छ। सडक सञ्जाल नहुँदा गुम्बा गाउँ जिल्लाकै सबैभन्दा दुर्गम बस्तीमध्ये एक मानिन्छ।
यसअघि घोडेटो बाटोसमेत नहुँदा स्थानीयले ज्यान जोखिममा राख्दै भिरालो बाटो हुँदै यात्रा गर्नुपर्ने अवस्था थियो। २०७६ सालमा पालिकाले घोडेटो बाटो निर्माण गरेपछि आवतजावत केही सहज भए पनि उम्मेदवारहरूको गाउँ आगमन भने अझै हुन सकेको छैन।
हिमाली गाउँपालिका–३ का स्थानीय जसबहादुर भण्डारीका अनुसार गाउँमा उम्मेदवार मात्र होइन, अन्य बाहिरी मानिससमेत कमै पुग्ने गरेका छन्। गाउँमा मुख्यतया भोटे जनजातिको बसोबास छ र उनीहरूको जीविकोपार्जन भेडा, बाख्रा, घोडा तथा चौँरी पालनमा आधारित छ।
स्थानीय नरी रोकायाले सडक नहुँदा पालिका केन्द्रसम्म पुग्न अझै पनि कठिनाइ हुने गरेको बताए। उनका अनुसार निर्वाचनका बेला उम्मेदवारहरू गाउँ नपुग्दा मतदाताले प्रत्यक्ष भेटको अवसर पाउन सकेका छैनन्।
वडा अध्यक्ष मङ्गल बुढाका अनुसार दुर्गम अवस्थाकै कारण गाउँमा राजनीतिक कार्यक्रम तथा नेताहरूको उपस्थिति न्यून रहँदै आएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले भने २०७९ सालको निर्वाचनमा आफू गाउँ पुगेको भए पनि प्रदेश र सङ्घीय तहका उम्मेदवारहरू अझै नपुगेको बताए।
गाउँका मतदाताहरू उम्मेदवारको प्रत्यक्ष भेटको प्रतीक्षामा रहे पनि प्रायः चिनेकै व्यक्तिलाई मतदान गर्ने गरेका छन्। गुम्बा गाउँस्थित हिमालभक्ति माध्यमिक विद्यालयमा मतदान केन्द्र रहेको छ।



कागजपत्र |
