दार्चुलामा वृद्धाको हत्या प्रकरण : गरगहना लुटपाटमा संलग्न दुईजना पक्राउ


दार्चुला-  दार्चुलाको शैल्यशिखर नगरपालिका–८ मा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सोमबार राति आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जोशीको हत्या गरी गरगहना लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षीय गोपाल नाथ रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना ले उक्त जानकारी दिएका हुन्।

संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक (सई) पदमबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले घटनाको सफल अनुसन्धान गर्दै अभियुक्तहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका उमेश साउद पेशाले ट्याक्टर चालक हुन् भने गोपाल नाथ उनका सहयोगीका रूपमा काम गर्दै आएका थिए। साउद मृतक लक्ष्मी जोशीका छिमेकीसमेत रहेको खुलेको छ।

डीआईजी रानाका अनुसार अभियुक्तहरूले हत्या पश्चात् लुटपाट गरेका गरगहना पनि प्रहरीले बरामद गरेको छ। बरामद गरगहनाको परिमाण झन्डै दुई तोला बराबर रहेको उनले बताए।

पृष्ठभूमि हेर्दा उमेश साउद यसअघि चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरी छुटेका व्यक्ति हुन् भने गोपाल नाथले पनि चार महिना कैद सजाय भोगिसकेका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया