डोटीको लफडा गाउँमा बन्दुक पड्किँदा युवकको मृत्यु


डोटी- डोटीमा भरुवा बन्दुक पड्किँदा छर्रा लागेर एक युवकको ज्यान गएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–१ लफडा गाउँ निवासी ३० वर्षीय कलम धामीको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय दुर्गा सिंह कुडमालको तीनतले घरको माथिल्लो तलामा बिजुलीको वायरिङ गर्ने क्रममा कोठाभित्र राखिएको भरुवा बन्दुक अचानक पड्किएको थियो । बन्दुक पड्किँदा छर्रा धामीको बाँया कन्चटमा लागेर उनी गम्भीर घाइते भएका थिए ।

घाइते धामीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनापछि स्थानीयले राति करिब १ बजे प्रहरीलाई खबर गरेका थिए । सूचनापछि प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

थप अनुसन्धानका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा एसओसीओसहित छ जनाको टोली खटिएको प्रहरीले जनाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया