
सीमामा सशस्त्रमाथि तस्करको निरन्तर आक्रमण
काठमाडाैं- नेपाल–भारत सीमा क्षेत्रमा पछिल्ला वर्षहरूमा भारतीय तस्कर समूहद्वारा सशस्त्र प्रहरीमाथि निरन्तर आक्रमण हुँदै आएका घटनाहरूले सीमा सुरक्षा गम्भीर चुनौतीमा परेको देखिएको छ । चार वर्षअघि सुरु भएका यस्ता आक्रमणहरू हालसम्म पनि रोकिएका छैनन् ।
२०७८ असोजमा साँझको समयमा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–८ स्थित कञ्जभोजन नजिक नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीमाथि भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए ।
त्यसअघि २०७७ साउन ४ मा झापाको गौरीगन्ज गाउँपालिका–५ अन्तर्गत नेपाल–भारत सीमा क्षेत्रको १५२ नम्बर पिलरपूर्व मल्हाटोली नजिक भारतीय तस्कर समूहले सशस्त्र प्रहरी टोलीमाथि आक्रमण गरेको थियो । उक्त घटनामा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका दुई जवान घाइते भएका थिए ।
२०७७ जेठ ३१ मा सर्लाहीको नारायणपुर नाकामा पनि भारतीय तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको थियो । अवैध रूपमा नेपाल प्रवेश गर्न खोजेको तस्कर समूहलाई रोक्ने क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा एक भारतीय तस्करको मृत्यु भएको थियो । उक्त घटनामा सशस्त्र प्रहरीका तीन र तस्कर समूहका दुई जना घाइते भएका थिए ।
यसैगरी २०७७ जेठ १८ मा सर्लाहीको विष्णु गाउँपालिका–२ स्थित पकडीको फेनहरा नाकामा खटिएका सशस्त्र प्रहरीमाथि पनि भारतीय तस्कर समूहले आक्रमण गरेको थियो । यसरी सीमाक्षेत्रमा तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गर्दै आएको श्रृंखला लामो हुँदै गएको छ ।
यसैबीच सोमबार वीरगन्जमा सशस्त्र प्रहरी बलले एउटा गोदाममा छापा मार्ने क्रममा तस्कर समूहसँग झडप भएको छ । वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको गोदाममा भन्सार छलेर भित्र्याइएका सामान भण्डारण गरिएको आशंकामा सशस्त्र प्रहरी बल १३ नम्बर गण र भन्सार कार्यालयको संयुक्त टोलीले दिउँसो छापा मारेको थियो ।
छापाका क्रममा करिब पाँच लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका पाँच पोका कपडा बरामद भएपछि ती कपडा लोड गर्ने क्रममा तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो । झडपका क्रममा सशस्त्र प्रहरीका तीन जना सामान्य घाइते भएका छन् भने सरकारी गाडीमा समेत क्षति पुगेको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार घाइते भएका तीनै जना सशस्त्र प्रहरीको नारायणी अस्पतालमा उपचार भइरहेको छ र उनीहरू खतरामुक्त अवस्थामा छन् ।
पर्साका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिँदै सशस्त्र प्रहरीमाथि आक्रमण भएपछि तस्कर समूहसँगै केही स्थानीय नागरिकसमेत आइलागेको बताए । सशस्त्र प्रहरीको सुझबुझका कारण ठूलो अप्रिय घटना हुन नपाएको उनको भनाइ छ ।
सीमा सुरक्षा तथा वीरगन्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी विकास अधिकारीले गोदाम खानतलासीका क्रममा व्यापारीहरूले अवरोध गरेपछि झडप सुरु भएको बताएका छन् । बरामद कपडा वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।
सशस्त्र प्रहरी बल नेपालले घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ । सशस्त्र प्रहरी गण १३ नम्बर पर्साका प्रवक्ता डिएसपी मोहन निरौलाका अनुसार घटनामा संलग्न केही व्यक्तिको पहिचान भइसकेको छ र जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको नाम किटानी गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि सशस्त्र प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिसकेको छ ।
सशस्त्र प्रहरीमाथि तस्कर समूहको आक्रमण पछिल्ला दुई वर्षयता झनै बढ्दै गएको छ । २०८१ साल भदौमा सिरहामा मदिरा तस्करी गर्ने गिरोहलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको मृत्यु भएको थियो ।
नेपाल–भारत सीमा क्षेत्र बरियारपट्टी गाउँपालिका–१ कचनारीमा तस्करीको सामान बोकेको ट्रकले किच्दा उनको ज्यान गएको थियो । त्यसैगरी एक वर्षअघि सर्लाहीमा भेप बोकेको ट्रकलाई रोक्न खोज्दा तस्करको आक्रमणमा सशस्त्र प्रहरी निरीक्षक गम्भीर घाइते भएका थिए । अस्पताल पुर्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।



कागजपत्र |
