एआई र एड्भान्स एनालेटिक सेल गठन गर्ने तयारीमा नेपाल प्रहरी


काठमाडौं-  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले छिट्टै एआई र एड्भान्स एनालेटिक सेल गठन गर्न लागेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित “अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका” विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै आईजीपी कार्कीले सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्री प्रशारण गर्ने गतिविधि बढ्दै गएको बताए। यसरी फैलिएको गलत जानकारीलाई निगरानी गर्न र कानूनी उपचार गर्न प्रहरीले नयाँ सेवा गठन गर्न लागेको उनको भनाइ थियो।

‘आजको डिजिटल युगमा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फरमेशन, डिसइन्फरमेशन, हेट स्पिच, एआईको दुरुपयोग तथा डिजिटल म्यानुपुलेशनबाट सृजित झुटा सामग्रीले बढवा पाइरहेको छ, जुन सबैका लागि साझा चिन्ता हो,’ उनले भने। आईजीपी कार्कीले कानून कार्यान्वयन नै कानूनी शासनको आधार भएको र कटपेष्ट, कपीपेष्टको यान्त्रिकतामा सृजनशीलताको शुन्यता हुने पनि बताए।

प्रहरी महानिरीक्षकले सञ्चारकर्मीहरूले राष्ट्रिय सुरक्षाको मर्मलाई आफ्नो धर्मको रूपमा आत्मसात गर्नुपर्ने बताए। ‘यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमले मार्गदर्शन तयार गर्नेछ भन्ने हाम्रो स्वाभाविक अपेक्षा छ,’ उनले भने, ‘यस किसिमका गतिविधि, निगरानी र कानूनी उपचारका लागि नेपाल प्रहरीले एआई र एड्भान्स एनालेटिक सेल बनाएर काम गर्नु पर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं।’

प्रतिक्रिया