जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ठगुन्ना काठमाडौंबाट पक्राउ


वीरेन्द्रनगर – जबरजस्ती करणी सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादी भुपेन्द्रसिंह ठगुन्नालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

परिवर्तित नामथर (आ.व. २०८२/०८३) ६४, वीरेन्द्रनगर नगरपालिका–१६ का पीडितको जाहेरीका आधारमा वादी नेपाल सरकार र प्रतिवादी भुपेन्द्रसिंह ठगुन्ना रहेको जबरजस्ती करणी मुद्दामा सुर्खेत जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो।

अदालतको सोही आदेशअनुसार प्रतिवादीको खोजतलासका क्रममा खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौँ महानगरपालिका–९ स्थित सिनामंगलमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट ठगुन्नालाई पक्राउ गरेको हो।

पक्राउ परेका ठगुन्ना दार्चुला जिल्लाको नौगाड गाउँपालिका–२, सुन्डमुन्ड घर भई हाल काठमाडौँको रामशाहपथमा बसोबास गर्दै आएका थिए। २६ वर्षीय ठगुन्नालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया