बैतडी बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त


काठमाडौं-  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उक्त दुर्घटनामा १३ जनाको ज्यान गएको थियो।

सभापति थापाले आज शोक विज्ञप्ति जारी गर्दै दुर्घटनाको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन्। उनले यस पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकाकूल परिवारजनप्रति पार्टी तथा आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन्।

सभापति थापाले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक सबै प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन्।

उक्त दुर्घटना बिहीबार जन्ती बोकेको बसमा भएको हो। बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा आठ जनाको घटनास्थलमै र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा ३४ जना घाइते भएका छन्। घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रतिक्रिया