भाडा नतिर्ने ८ सहकारीलाई काठमाडौं महानगरको ७ दिने अल्टिमेटम


काठमाडौं-  काठमाडौं महानगरपालिकाले घरबहाल नतिर्ने आठ वटा सहकारी संस्थालाई एक साताभित्र भाडा चुक्ता गर्न अल्टिमेटम दिएको छ। महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो।

महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागद्वारा जारी सूचनामा सहकारीका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी तथा सदस्यहरूलाई सूचना प्रकाशन भएको मितिले सात दिनभित्र विभागमा उपस्थित हुन आग्रह गरिएको छ।

निर्धारित समयभित्र सम्बन्धित पक्ष सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार सहकारीले बहालमा लिएका घर–कोठा खाली गराइने महानगरले जनाएको छ। घर–कोठा खाली गरिँदा कार्यालयका सामग्री घरधनीको जिम्मामा दिइने र पछि सहकारीका तर्फबाट कुनै दाबी–विरोध स्वीकार नगर्ने पनि सूचनामा उल्लेख छ।

लामो समयदेखि भाडा नतिरी कार्यालयमा ताला लगाएर सहकारीका सञ्चालकहरू फरार भएपछि घरधनीहरूबाट उजुरी प्राप्त भएको र ती उजुरी फर्छ्योटका क्रममा सार्वजनिक सूचना जारी गरिएको महानगरपालिकाले स्पष्ट पारेको छ।

तोकिएको समयसीमाभित्र सहकारीका पदाधिकारी वा कर्मचारी सम्पर्कमा नआएमा महानगरपालिकाले आफैँ न्यायिक समितिको निर्णयअनुसार घर–कोठा खाली गराउने चेतावनी दिएको छ।

प्रतिक्रिया