
भारतीय शिक्षक रूबल नागीलाई १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार
दुबई – भारतकी सामाजिक अभियन्ता तथा शिक्षक रूबल नागीले १० लाख अमेरिकी डलर राशिको प्रतिष्ठित ग्लोबल शिक्षक पुरस्कार प्राप्त गरेकी छन्। दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलनका क्रममा बिहीबार उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
विश्वभर शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने शिक्षकलाई वार्षिक रूपमा प्रदान गरिने यो पुरस्कार वार्की फाउन्डेसनले प्रदान गर्दै आएको छ।
नागीले ‘नागी आर्ट फाउन्डेसन’मार्फत भारतका विभिन्न स्थानमा ८०० भन्दा बढी सिकाइ केन्द्र स्थापना गरेकी छन्। ती केन्द्रहरूमा विद्यालय नपुगेका बालबालिकालाई संरचित शिक्षा दिइन्छ भने विद्यालयमा अध्ययनरत बालबालिकाका लागि सहयोगी कक्षा पनि सञ्चालन गरिँदै आएको छ।
उनले झुपडी बस्तीका भित्ताहरूमा साक्षरता, विज्ञान, गणित र इतिहास समेटिएका शैक्षिक भित्तेचित्र तयार गर्दै आएकी छन्, जसले बालबालिकाको सिकाइ क्षमता र सिर्जनशीलता बढाउन सहयोग पुगेको बताइएको छ।
पुरस्कारस्वरूप प्राप्त १० लाख डलर निःशुल्क व्यावसायिक तालिम प्रदान गर्ने संस्थान स्थापना गर्न प्रयोग गरिने नागीले जानकारी दिइन्।
सन् २०१५ देखि प्रदान हुँदै आएको ग्लोबल शिक्षक पुरस्कारका संस्थापक सन्नी वार्की हुन्, जो जीईएमएस एजुकेशनका संस्थापक समेत हुन्। नागी यस पुरस्कारकी १० औँ विजेता बनेकी छन्। यसअघि केन्या, प्यालेस्टाइन, क्यानडा र साउदी अरेबियाका शिक्षकहरू पनि यो सम्मानबाट सम्मानित भइसकेका छन्।



कागजपत्र |
