
‘नयाँ दल’को भ्रममा नपर्न मतदातालाई कांग्रेसको अपील
काठमाडौं- नेपाली कांग्रेसले पछिल्लो समय आफूलाई ‘नयाँ’ दाबी गर्ने राजनीतिक दलहरूप्रति भ्रममा नपर्न मतदातालाई अपील गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले अधिनायकवादी शक्तिहरू सधैं मिठा र आकर्षक भाषणमार्फत आउने भन्दै मतदातालाई सचेत रहन आग्रह गरे।
‘नयाँ भन्नेहरूको भ्रममा नपर्नुस्,’ उनले भने, ‘चुनावी गतिविधिमा बालबालिकाको समेत प्रयोग भइरहेको देखिन्छ, यसतर्फ निर्वाचन आयोगले ध्यान दिनुपर्छ।’
चालिसेले फरक पार्टी र तिनका नेताहरूविरुद्ध सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट भइरहेका घृणास्पद र अमर्यादित अभिव्यक्तिको पनि विरोध गरे। उनले यस्तो गतिविधिले स्वच्छ र स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिगारिरहेको बताए।
‘स्वच्छ वातावरणमा चुनाव हुनुपर्नेमा अमर्यादित टिप्पणीका कारण राजनीतिक प्रतिस्पर्धा अस्वस्थ बन्दै गएको छ,’ उनले भने, ‘कांग्रेस यस विषयमा सजग छ।’
उनले सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर बाहिरिनु नैतिकतासँग मेल नखाने टिप्पणी पनि गरे। नागरिकले स्वतन्त्र, निर्भय र सुरक्षित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व भएको उनले जोड दिए।



कागजपत्र |
