सरकारी साक्षीले बयान फेरेपछि…


काठमाडौं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा पेस गरिएका दुई व्यक्तिले अदालतमा बयान फेरेको भन्दै उनीहरूमाथि नै विशेष अदालतमा मुद्दा दायर गरेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका–४ निवासी तेजबहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध बिहीबार आरोपपत्र दायर गरिएको हो।

यसअघि भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले मोही जग्गा दर्ता गरिदिने बहानामा २४ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा आयोगले मुद्दा दायर गरेको थियो। सोही मुद्दामा तेजबहादुर र सानुकान्छालाई सजायमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो।

तर २०८२ भदौ २३ गते विशेष अदालतमा बकपत्र गर्ने क्रममा उनीहरूले अनुसन्धानका बेला आयोगमा दिएको बयानको ठीक विपरीत बयान दिएको आयोगको भनाइ छ।

अनुसन्धानका क्रममा उनीहरूले घुस दिएको तथ्य पुष्टि भए पनि अदालतमा बयान फेरेपछि आयोगले उनीहरूलाई समेत प्रतिवादी कायम गर्दै मुद्दा चलाएको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूविरुद्ध २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा बिगो बराबर जरिवानाको मागदाबी लिइएको छ।

प्रतिक्रिया