रौतहटमा रास्वपा उम्मेदवार चढेको गाडीको ठक्करबाट बालिकाको मृत्यु


रौतहट-  रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार सगिर आलमको गाडीले ठक्कर दिँदा एक बालिका घाइते भएकी र उपचारको क्रममा ज्यान गुमाएकी छन्। घटना बिहीबार दिउँसो इशनाथ नगरपालिका–४ मठियामा घटेको हो।

चार वर्षीया अल्फा खातुन तीव्र गतिमा रहेको बा१५च ४२४४ नम्बरको कारले ठक्कर दिएर घाइते भएकी थिइन्। उनको उपचारका लागि चालकले सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल पुर्‍याए, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने गाडी अहिले प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले जानकारी दिएका छन्। प्रहरीले चालकको खोजी प्रक्रिया तीव्र बनाएको छ।

घटना चुनावी प्रचारकै क्रममा घटेको र बालिकाको मृत्युले स्थानीय समुदायमा शोक र तनाव बढाएको बताइएको छ।

प्रतिक्रिया