राष्ट्रिय कुस्ती खेलाडी सिवाङ्गीले ७ वर्षको प्रयासपछि पाइन् नेपाली नागरिकता


डडेल्धुरा-  सात वर्षसम्म कागजी प्रक्रियामा अल्झिएकी राष्ट्रिय कुस्ती खेलाडी सिवाङ्गी दुवेले अन्ततः नेपाली अंगीकृत नागरिकता प्राप्त गरेकी छन्। बिहीवार जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सिवाङ्गीसहित उनकी बहिनी सन्ध्या र भाइ सिशाङ्कलाई नागरिकता हस्तान्तरण गरेको छ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार जिल्लामा पहिलोपटक आमाको नामबाट अंगीकृत नागरिकता वितरण गरिएको हो। उनले भने, “उहाँहरूले नागरिकता पाउन ७ वर्षसम्म भोग्नुभएको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। आज उहाँहरू नेपाली नागरिक भएकोमा हामी पनि गर्व गर्छौँ।”

नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन र नियमावलीको चौथो संशोधनअनुसार बाबु विदेशी र आमा नेपाली भएको अवस्थामा दुवेसहित उनका भाइबहिनीले नागरिकता पाएका हुन्।

नागरिकता पाएपछि सिवाङ्गीले खुसी व्यक्त गर्दै भनिन्, “२०७६ सालदेखि प्रयास गरिरहेकी थिएँ, बल्ल सफल भएँ। नागरिकता नहुँदा खेल जीवनमा अवरोध थियो, प्रतियोगितामा भाग लिन समस्या हुन्थ्यो। अब ढुक्क भएर तालिम र प्रतियोगितामा भाग लिन सक्छु।”

सिवाङ्गीले नागरिकताकै अभावमा पढाइ पनि रोकिएको बताउँदै अब शिक्षा अघि बढाउने बताइन्। उनी राष्ट्रियस्तरका कुस्ती प्रतियोगितामा ८ स्वर्ण पदक जितेकी छन् भने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि रजत पदक पनि दिलाएकी छन्। १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै फाइनलमा भारतीय खेलाडी पिङ्की सेरावतसँग पराजित भएकी थिइन्।

सिवाङ्गीका बुवा राजु दुवे भारतीय नागरिक हुन् भने आमा राधिकादेवी रोका डडेल्धुराको अमरगढी नगरपालिका–५ की हुन्। विवाहपछि राजु नेपालमै बसोबास गर्दै आएका छन्। हाल परिवार कञ्चनपुरको भीमदत्त नगरपालिका–३ खैरेनीमा बस्दै आएको छ।

 

प्रतिक्रिया