
कमलामाई नगरपालिकाका मेयरको घरमा अख्तियारको छापा
काठमाडौं- सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। अख्तियारको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले सोमबार सिन्धुलीमाढीस्थित मेयर पोखरेलको निवासमा पुगेर छापा मारेको हो।
छापाका क्रममा अख्तियारको टोलीले मेयर पोखरेलसँग सोधपुछ समेत गरेको छ। सिन्धुलीमाढीस्थित पुरानो सभाहल भत्काउँदा त्यहाँबाट निकालिएको सयौँ क्युफिट काठ हिनामिना गरिएको भन्दै उजुरी परेपछि आयोगले सो विषयमा अनुसन्धान अघि बढाएको हो।
उक्त सभाहल भत्काउँदा नगर प्रहरी ब्यारेक पछाडि राखिएको काठ गायब भएको उजुरीको आधारमा अख्तियारको टोलीले मेयर पोखरेलको घरमै पुगेर सोधपुछ गरेको जनाएको छ।
छापाका क्रममा मेयर पोखरेलको घरमा काठ भने फेला नपरेको अख्तियारका एक जना अधिकृतले जानकारी दिए।
अख्तियारले काठ हिनामिनासम्बन्धी उजुरीको तथ्य र संलग्नताबारे विस्तृत छानबिन जारी राखेको जनाएको छ।



कागजपत्र |
