
म्यानमारमा स्क्याम सेन्टरमा काम गर्ने १८ नेपालीलाई एक वर्ष कैद
काठमाडौं- म्यानमारको अदालतले त्यहाँका ‘स्क्याम सेन्टर’मा काम गर्ने १८ जना नेपालीलाई एक वर्ष कैद र श्रम गर्ने सजाय सुनाएको छ।
म्यानमारको विदेश मन्त्रालयबाट प्राप्त जानकारी अनुसार, सजाय पाउने सबै नेपाली पुरुष हुन् र उनीहरूले एक वर्षसम्म कारागारमा बसेर श्रम गर्नु पर्नेछ। म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले यस सम्बन्धमा विस्तृत जानकारी संकलन भइरहेको बताए।
प्रहरीका अनुसार यी नेपालीहरू म्यावडी क्षेत्रमा गैरकानुनी स्क्याम सेन्टरमा कार्यरत थिए र उद्धार प्रयासको क्रममा नियन्त्रणमा लिइएको थियो। केही साताअघि थाइल्यान्डस्थित नेपाली दूतावासको टोलीले उनीहरूलाई उद्धार गर्न म्यानमार बोर्डर नजिक पुगेको थियो। तर स्थानीय प्रहरीले नियन्त्रणमा लिएर मुद्दा अघि बढाएको थियो।
राजदूत घिमिरेका अनुसार, “सजाय पाउनेहरू विभिन्न प्रलोभनमा परी स्क्याम सेन्टरमा पुगेका नेपाली हुन्।” मानव तस्करहरूले दक्षिणपूर्वी एसियाली राष्ट्रमा धेरै नेपालीलाई प्रलोभनमा पारेर पठाउने गरेको भए पनि ठोस तथ्यांक उपलब्ध छैन। म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावासले पटकपटक सूचना जारी गर्दै यस्ता प्रलोभनबाट जोगिन सचेत गराएको छ।



कागजपत्र |
