निर्वाचन आयोगले काठमाडौं महानगरलाई सोध्यो स्पष्टीकरण


काठमाडौं-  निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपछि महानगरपालिकाले ७० वर्ष तथा सोभन्दा माथिका नागरिकलाई घर–घरमै आधारभूत स्वास्थ्य सेवा दिने कार्यक्रम सुरु गरेको विषयमा आयोगले पत्राचार गरेको हो।

आयोगका अनुसार यस सम्बन्धमा कार्यबाहक नगरप्रमुखले दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि स्पष्टीकरण माग गरिएको हो। निर्वाचन आचारसंहिता २०८२ को दफा ५ (क) (ग) अनुसार वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत नभएका नयाँ नीति, योजना वा कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था छ।

सोही सन्दर्भमा आयोगले महानगरपालिकालाई उक्त कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएको हो वा होइन भनी स्पष्ट जवाफसहित कागजात पेश गर्न निर्देशन दिएको छ। यदि कार्यक्रम बजेटमा समावेश भएको भए प्रमाणित कागजातको प्रतिलिपि दुई दिनभित्र आयोगमा पेश गर्न सोमबार लेखिएको पत्रमा उल्लेख छ।

प्रतिक्रिया