
बालेनको प्रचारमा गएका पत्रकार दिनेश सिटौलालाई ब्रेन ह्यामरेज
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भएका चलचित्र पत्रकार दिनेश सिटौलालाई ब्रेन ह्यामरेज भएको पुष्टि भएको छ। हाल उनको काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
अस्पताल स्रोतका अनुसार सिटौलालाई अस्पताल ल्याउनुअघि करिब ४५ मिनेटसम्म मुटुको चाल बन्द भएको थियो। “उहाँलाई ब्रेन ह्यामरेज भएको थियो। अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,” ग्रान्डी अस्पतालका एक चिकित्सकले जानकारी दिए। अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे औपचारिक विज्ञप्ति निकाल्ने तयारी गरिरहेको छ।
चुनावी प्रचारका क्रममा सिटौला अछाम–२ बाट रास्वपाका उम्मेदवार भूपदेव शाहको घरमा बालेनसँगै पुगेका थिए। त्यही क्रममा उनी एक्कासि बेहोस भई लड्दा टाउकोमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ।
घटनापछि सिटौलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो। हाल उनको चेतनास्तर अत्यन्त न्यून रहेको र स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।



कागजपत्र |
