
झापा–५ मा कसैसँग तालमेल हुँदैन: राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि दलसँग तालमेल नगर्ने र अन्य पार्टीका उम्मेदवारलाई सहयोग नगर्ने स्पष्ट पारेका छन्।
विशेषगरी झापा–५ मा राप्रपाले कसैलाई पनि सहयोग नगर्ने उनले बताएका हुन्। “सघाउने नै हो भने सिट खाली गरेर सघाउने हो, अरू कुनै किसिमको सहयोग हुँदैन,” उनले भने।
लिङ्देनले झापा–५ मा राप्रपाले योग्य उम्मेदवार उठाएको र त्यसका लागि तीन वर्षअघिदेखि नै तयारी गरिएको दाबी गरे। “हामीले झापा–५ मा उपलब्ध योग्य उम्मेदवार लक्ष्मी संग्रौलालाई अघि सारेका छौं,” उनले भने, “उहाँ तीन वर्षदेखि तयारी गर्दै आउनुभएको हो। यो हाम्रो राम्रो उपस्थिति रहेको क्षेत्र हो।”
२०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले र राप्रपाबीच झापा लगायत केही क्षेत्रमा तालमेल भएको थियो। सो क्रममा राप्रपाले झापा–५ मा ओलीलाई सहयोग गरेको थियो भने एमालेले झापा–३ मा लिङ्देनलाई समर्थन गरेको थियो, जसका कारण दुवै उम्मेदवार विजयी भएका थिए।
यसपटक झापा–५ मा काठमाडौँका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बनेपछि ओलीमाथि चुनौती थपिएको विश्लेषण भइरहेका बेला उनले आफ्नो निर्वाचन क्षेत्रमा राप्रपाका मेयर राम थापालाई भेटेका थिए। तर लिङ्देनले व्यक्तिगत भेटघाटकै आधारमा पार्टीले सहयोग गरिरहेको निष्कर्ष निकाल्नु गलत हुने बताए।



कागजपत्र |
