सिन्धुपाल्चोकमा शिक्षक पक्राउ, १२ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप


सिन्धुपाल्चोक – विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकमा एक शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्ने शिक्षक चौतारा साँगाचोकगढी नगरपालिका–१२, साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयका जितराज गिरी हुन् । उनलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यले जानकारी दिए ।

प्रहरीका अनुसार, गिरीको विद्यालय नजिकै उनको आफ्नै स्टेशनरी पसल रहेको छ । उक्त पसलमा गएका बेला १२ वर्षीया छात्रालाई उनीले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । पीडित छात्रा हाल कक्षा ७ मा अध्ययनरत छिन् ।

पीडित बालिकाले घटनाबारे आफ्ना आफन्तलाई जानकारी गराएपछि गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो । पीडितका अभिभावकले प्रहरीमा जाहेरी दिएका छन् र म्याद थप प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

अभियोगबारे प्रतिवादी गिरीले भने ‘माया गरेर गाला मात्रै छोएको’ दाबी गरेका छन् र आरोप अस्वीकार गरेका छन् । यसको विरोधमा बालिकाका आफन्तले बुधबार दबाब पनि सिर्जना गरेका थिए ।

घटनाबारे जानकारी पाएपछि बालिकाका अभिभावक विद्यालयमा पुगेर छलफल गरेका थिए । तर आरोपित शिक्षकले अस्वीकार गरेको र विवाद बढेपछि प्रहरीले विद्यालयको तनाव न्यूनीकरण गर्दै गिरीलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया